लोकसभा निर्वाचनः भारतमा मोदी फेरि प्रधानमन्त्री ! पछिल्लो नतिजा यस्तो छ
काठमाडौं, जेठ ९ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले लोकसभा निर्वाचनमा बहुमत स्थानमा जित हातपार्ने देखिएको छ ।
मतगणनाको पछिल्लो नतिजामा भाजपा गठबन्धनले ३५० भन्दा बढी सिटमा अग्रता लिएको छ ।
योसँगै भाजपा नेता नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चितप्रायः भएको छ ।
निर्वाचनलाई प्रधानमन्त्री मोदीका लागि जनमतसंग्रहकारुपमासमेत हेरिएको थियो ।
हिन्दु राष्ट्रवादी भाजपाको मुख्यालयमा समर्थकहरुले खुसियाली मनाउन थालेका छन् ।
‘युपीए’ १०० भन्दा कम सिटमा अगाडि
पछिल्लो मतगणनाअनुसार राहुल गान्धी अध्यक्ष रहेको भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपीए) १०० भन्दा कम सिटमा अगाडि देखिएको छ ।
५४५ सदस्यीय लोकसभा सिटमध्ये ५४३ स्थानका लागि भएको निर्वाचनको मतगणता बिहीबार बिहानबाट सुरु भएको हो ।
लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ ।
विद्युतीय मेसिनमार्फत् मतगणना भइरहेको छ । निर्वाचन आयोगले चरणबद्धरुपमा परिणाम सार्वजनिक गरेकाले अन्तिम परिणाम आउन केही ढिलाइ हुने अनुमान गरिएको छ ।
गत अप्रिल ११ बाट सुरु भइ मे १९ मा सकिएको निर्वाचन सात चरणमा भएको थियो ।
पाँच वर्षअघिको चुनावमा भाजपाले एक्लै २७२ स्थानसहित उसको गठबन्धनले ३३६ सिटमा जित हात पारेको थियो । कांग्रेस ४४ सिटमा सीमित भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्