इपिएल फाइनलमा विराटनगरले पहिले ब्याटिङ गर्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स खेल्दैछन् । कीर्तिपुरमा टस जितेर विराटनगरले पहिले ब्याटिङ गर्ने भएको छ ।

खेल केहीबेरमा सुरु हुँदैछ । राष्ट्रिय टोलीका कप्तान पारस खड्का कप्तान रहेको विराटनगर प्रतियोगितामा अहिलेसम्मकै अपराजित टोली हो । त्यस्तै राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी शरद भेषावकर कप्तान रहेको भैरहवाले प्रतियोगितामा २ खेल मात्र हारेको छ । उसले दुवै खेल विराटनगरसँग हारेको थियो ।

भैरहवा विराटनगरसँग समुह चरणमा ३५ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले पराजित भएको थियो । क्वालिफायरमा पाति भए पनि भैरहवाले इलिमिनेटरमा ललितपुरलाई हराउँदै फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो । विराटनगरका लागि कप्तान पारससँगै बसन्त रेग्मी तथा हङ्कङ्गका खेलाडी बाबर हायत र अंशुमन रथले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

बाबर र अशुंमन प्रतियोगितामा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् । भैरहवाका लागि कप्तान भेषावकरसँगै आरिफ शेख, रोहितकुमार पौडेल, दिपेश श्रेष्ठ भारतीय खेलाडी पुनित मिश्रा र पुनित विष्ट, हरिशंकर साह लगायतले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्