सगरमाथाको उचाइ नाप्ने सरकारी टोली चुचुरोमा पुगि फर्कियो

काठमाडौं, ८ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाई नाप्ने नेपाल सरकारको टोली बुधवार बिहान चुचुरोमा पुगेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको ५ सदस्यीय टोली बिहान सवा ३ बजे सगरमाथाको चुचुरोमा पुगेको हो ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले अत्याधुनिक उपकरणसहित नेपाली सरकारी टोली शिखरमा पुगेको जनाएका छन् ।

उचाई नाप्ने टिमका सदस्य प्रमुख नापी अधिकृत गौतम, नापी अधिकृत रवीन कार्की र अन्य तीन जना सहयोगीहरुले सगरमाथा शिखरमा आधा घण्टासम्म बसेर स्याटेलाइटबाट आएका संकेतहरु रेकर्ड गरेको महानिर्देक जोशीले बताए । सगरमाथा शिखरमै बसेर आधा घण्टासम्म डाटा संकलन गरेका छन् ।

महानिर्देशक जोशीले भने ‘टोलीले आज बिहान आधा घण्टासम्म चुचुरोमा बसेर अब्जरभेसन गरेको छ । आरटेन भन्ने उपकरणले आकाशमा घुमिरहेका स्याटेलाइटबाट आएका संकेतहरु रेकर्ड गर्दछ ।

यस अधि विश्वको सर्वोच्च शिखरको उचाइ विदेशीको मापनमा आधारित थिए । सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ समुन्द्र सतहदेखि ८ हजार ८ सय ४८ मिटर भएको बताएको थियो । सन् १९९९मा अमेरिकी टोलीले सगरमाथा उचाइ बढेर ८ हजार ८ सय ५० मिटर पुगेको देखाएको थियो ।

आम बिनासकारी भूकम्प २०७२ पछि सगरमाथाको उचाइ के भयो होला भन्ने आमचासो छ । यसका बिषयमा केहि भ्रम पनि थिए जुन यो मापनपछि सबै स्पष्ट रेकर्ड आउने छ । पहिला सरकारसँग प्रविधि र जनशक्ति थिएन, अहिले हामीसँग प्रविधि र क्षमता भएकाले सगरमाथाको उचाइ नाप्न लागेका हौं नापी बिभागका प्रवक्ताले बताएका छन।

प्रतिक्रिया दिनुहोस्