नबिल ब्यालेन्स फण्ड–२ को इकाईमा आवेदन गर्ने समयसिमा शुक्रबार सकिदै

काठमाडौं, ३ जेठ । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले निष्काशन गरेको सामूहिक लगानी कोषको इकाई नबिल ब्यालेन्स फण्ड २ मा आवेदन गर्ने समयसिमा शुक्रबार बैैंकिङ्ग समयसम्म मात्र रहेको छ ।

नबिल इन्भेष्टमेन्टले गत बैशाख ५ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड बराबरको १२ करोड इकाई सार्वजनिक बिक्रीमा ल्याएको थियो । १२ करोड निष्कासन इकाईमध्ये कुल पूँजीको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई छुट्टाइएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणको लागि छुट्याइएको छ ।

दश वर्ष अवधिको यस फण्डको इकाईमा प्रति इकाई रु १०रुपैयाँ दरले न्यूनतम १०० इकाईको एक हजार रुपैयाँदेखि अधिकतम एक करोड २० लाख इकाईसम्मको आवेदन गर्न सक्नेछन् ।

यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । उक्त इकाईको बिक्री शुक्रबार कार्यालय समय पश्चात बन्द हुनेछ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने उक्त नबिल ब्यालेन्स फण्ड–२ नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको तेस्रो सामुहिक लगानी कोष हो ।

नबिल म्युचुअल फण्डको ७ वर्षे योजना नबिल इक्वीटी फण्ड सञ्चालनमा रहेको छ भने पाँच वर्षे अवधिको नबिल ब्यालेन्सड् फण्ड १ २०७४ चैत २९ गते परिपक्व भई फण्डले २०७५ असार २७ गतेदेखि इकाईधनीलाई शतप्रतिशत लाभांश भुक्तानी गरिसकेको छ । नबिल इक्वीटी फण्ड–२ २०८० कार्तिक १८ गते परिपक्क हुनेछ ।

प्रतिक्रिया दिनुहोस्