फाइनलमा पुग्ने दिल्लीको सपना चकनाचुर, चेन्नईसंग ६ विकेटले पराजीत
पहिलो पटक फाइनलमा पुगेर इतिहाँस रच्ने सन्दिप आबद्ध टिम दिल्लीको सपना चकनाचुर भएको छ । चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटललाई ६ विकेटले पराजीत गरेको छ । खेलमा ओपनर फाप डुप्लेसिस र शेन वाट्सनले अर्धशतकीय पारी खेलेपछि दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरी चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार उपाधिका लागि चेन्नईले मुम्बई इण्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा मुम्बईसँग नै हारेपछि चेन्नईले दोस्रो क्वालिफायर दिल्लीसँग खेल्नुपरेको हो । यी दुई टोलीले अहिलेसम्म तीन तीन पटक आईपीएल जितेका छन् । मुम्बईले २०१३, ०१५ र १७ मा उपाधि जितेको थियो भने चेन्नाईले सन् २०१०, ०११ र ०१८ मा उपाधि जितेको थियो ।
विसाखापट्टनममा भएको दोस्रो क्वालिफायरमा १४८ रनको लक्ष्य चेन्नईले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । ओपनर डुप्लेसिस र वाट्सन दुवैले समान ५० /५० रनको पारी खेले । डुप्लेसिसले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा वाट्सनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । चेन्नईका लागि सुरेश रैनाले ११ र कप्तान महेन्द्र सिंह धोनीले ९ रन जोडे । अम्बाती रायडु २० रनमा अविजित रहे ।
प्रतियोगिताका सर्वाधिक विकेट लिने बलर कागिसो राबाडा विश्वकपको तयारीका लागि स्वदेश फर्किएपछि दिल्लीको बलिङ एकाएक कमजोर बनेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४७ रनको स्कोर खडा गरेको थियो । राम्रो सुरुआत गर्न नसकेको दिल्लीका लागि पाँचौं नम्बरमा ब्याटिङमा आएका ऋषभ पन्तले सर्वाधिक ३८ रन जोडेका थिए । पन्तले २५ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।
दिल्लीका लागि कोलिन मुनरोले २७, शिखर धवनले १८, कप्तान श्रीयास आयरले १३, शेरफान रथरफोर्डले १० रन जोडेका थिए । अन्तिम ओभरमा अन्तिम दुई बलमा छक्का र चौका प्रहार गरेका इशान्त शर्माले पनि १० रनको योगदान गरेका थिए । दिल्लीका ५ खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् ।
बलिङतर्फ चेन्नईका दीपक चहर, हरभजन सिंह, रविन्द्र जडेजा र ड्वायन ब्राभोले २–२ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्