मिडिया काउन्सिल विधेयक सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले गर्‍यो आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम

काठमाण्डौ, बैशाख २७ ।स्वतन्त्र प्रेसमाथि प्रतिबन्ध लगाउने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै विधेयक सच्चाउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ ।

महासंघले विधेयक प्रेस स्वतन्त्रता विरोधी छ भनेर सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा सांसदहरुलाई ध्यानाकर्षण गराउनेदेखि सञ्चारमाध्यमका सम्पादकहरु, विज्ञहरु तथा महासंघका पूर्व पदाधिकारीसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

यस्तै राजनीतिक दलका शीर्ष नेतृत्वलाई ध्यानाकर्षण गराउने, विधेयकको विरुद्धमा कालो पट्टी बाँधेर काम गर्ने जस्ता विरोधका कार्यक्रम गर्ने पनि महासंघले निर्णय गरेको छ ।

पहिलो चरण्को विरोधका कार्यक्रम गर्दा पनि सरकारले विधेयक नसच्चाए पुनः दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी पनि महासंघले दिएको छ । महासंघले आन्दोलन घोषणा गर्नुअघि पत्रकारका विभिन्न संघसंगठनसँग छलफल गरेको थियो ।

छलफलका क्रममा सत्तारुढ नेकपा निकट प्रेस संगठन नेपालका अध्यक्ष गणेश बस्नेतले मिडिया काउन्सिल विधेयक मन्त्रीलाई नै झुक्याएर कुनै गिरोहले ल्याएको जस्तो देखिएको बताउनुभएको थियो ।

विधेयक तयार पार्दा आफूहरुलाई कुनै जानकारी नै नदिइनु र विधेयक स्वतन्त्र प्रेस विरोधी रहनुले कुनै प्रेस विरोधी गिरोहले मन्त्रीलाई झुक्याएर ल्याएको जस्तो देखिएको देखिएको उनले बताए ।

यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले आफूहरुले मिडिया काउन्सिल गठनका लागि निकै मेहनत गरेर विधेयकको ड्राफ्ट तयार पारेर बुझाएको भए पनि त्यसको ९० प्रतिशत काटेर प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेर ल्याइएको बताए । विधेयक जस्ताको तस्तै पारित भए यसले प्रेसको घाँटी निमोठ्ने काम गर्ने पनि उनले बताए ।

यस्तै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले स्वतन्त्र पत्रकारीतामाथि नै प्रहार गर्ने गरी विधेयक ल्याएकाले त्यसको विरोधमा आन्दोलनमा जानुको विकल्प नभएको बताए ।
यस्तै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले संघीय लोकतान्त्रिक व्यवस्थामा प्रेस झनै स्वतन्त्र बनाउनुपर्नेमा सरकार प्रेसलाई संकुचित गर्नेगरी अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्