इरानको आक्रमण रोक्न अमेरिकाले पठायो युद्धपोत, अकस्मात इराक पुगे पोम्पेओ

काठमाडौं, बैशाख २५ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ मंगलबार अचानक इराकको राजधानी बग्दाद पुगेका छन्।

पूर्वजानकारीबिना भएको उक्त भ्रमणका क्रममा पोम्पेओले इराकी राष्ट्रपति बह्राम सलिह, प्रधानमन्त्री अदेल अब्दुल माहदीसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा उनले छिमेकी इरानबाट इराकमा रहेका अमेरिकीहरूलाई हुनसक्ने सम्भावित सुरक्षा खतराबारे कुराकानी गरेको बताइएको छ।

मध्यपुर्वमा रहेका अमेरिकी सैन्य अखडामा इरानले गर्न सक्ने सम्भावित आक्रमणको प्रतिवाद गर्न भन्दै अमेरिकाले केही दिनअघि त्यो क्षेत्रमा युद्धपोत पठाएको थियो।

राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उक्त क्षेत्रमा रहेका अमेरिकी, उसको स्वार्थ र सहयोगी राष्ट्रमाथि कुनै प्रकारको आक्रमण भए त्यसको जवाफ फर्काउने स्पष्ट सन्देश इरानलाई दिन युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुप र एउटा बम्बर टास्कफोर्स पठाइएको बताएका छन्।

पछिल्ला महिनाहरूमा इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकाले प्रतिबन्ध बढाएर इरानियन रिभोलसनरी गार्ड क्रप्सलाई आतंककारीको दर्जामा राखेपछि अमेरिका र इरान सम्बन्ध तनावपूर्ण भएको छ।

‘उनीहरूको देशमा अमेरिकी स्वार्थको पूर्ण रक्षा गर्न इराकको महत्वबारे हामीले उनीहरूसँग कुरा र्गयौं,’ पोम्पेओले भने।

उनले इराकमा रहेका अमेरिकीलाई हुनसक्ने खतराबारे इराकलाई जानकारी गराउन आफू बग्दाद आएको बताए।

‘हामी इराकको सार्वभौमसत्तालाई सघाउँछौं। उनीहरूको सार्वभौमिकतामाथि अतिक्रमण, त्यो पनि उनीहरूको देशभित्र कुनै अर्को मुलुकलाई आक्रमण गरेर नगरोस् भन्ने हामी चाहन्छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्