त्रुटी देखिएपछि स्वास्थ्यका कर्मचारीहरुकोे समायोजन लम्बियो
काठमाडा, बैशाख २४ । कर्मचारी समायोजनमा त्रुटी देखिएपछि स्वास्थ्यका कर्मचारीहरुको समायोजन लम्बिएको छ ।
स्वास्थ्यका १३ हजारभन्दा बढी कर्मचारीले समायोजनमा असन्तुष्टि जनाउँदै गुनासो दर्ता गराएका छन् ।
सरकारले समायोजन प्रक्रिया अगाडि बढाए पनि बीचैमा त्रुटी देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यका कर्मचारीको समायोजन अझै टुंग्याउन सकेको छैन ।
स्वास्थ्यका कर्मचारी समायोजनमा धेरै त्रुटि भएपछि समाधानका लागि सरकारले कर्मचारीसँग गुनासो दर्ता गर्न भनेको थियो । सामान्यले हालसम्म १३ हजार गुनासोको अभिलेख गरिसकेको छ ।
वैशाख ५ गतेभित्र दर्ता भएका गुनासोलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिला कम्प्युटरमा अभिलेख (इन्ट्री) गर्ने काम गरेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयमा सोझै दर्ता भएका गुनासा सहित इमेल र भाइबारमा आएका गुनासालाई पनि एक–एक गर्दै अभिलेख गर्ने काम भइरहेको हो ।
गुनासो अभिलेख गर्नका लागि १९ जना कर्मचारी खटिएका छन् । अझै ५ सय जति गुनासो बाँकी छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत सरकारले २७ हजार ३ सय २ जना कर्मचारीको समायोजन गरेको सूची सार्वजनिक गरेको थियो ।
तर, स्वास्थ्यको सूची सार्वजनिक भएलगत्तै धेरै त्रुटि आएपछि समायोजन भएको कर्मचारीमध्ये आधाभन्दा बढीले गुनासो दर्ता गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्