आईपीएलः कोलकाताविरुद्ध मुम्बईको शानदार जित

काठमाडौं , वैशाख २३ । कोलकाता नाइट राइडर्सलाई लिग चरणबाटै बाहिर पठाउँदै मुम्बई इण्डियन्स आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

लिग चरणको सबै खेल सकिँदा शीर्ष चार टोली अर्को चरणमा प्रवेश गरेका हुन् । शीर्ष चार टोलीमध्ये तीनवटाको समान १८ अंक छ । तर, नेट रन रेटका आधारमा मुम्बई पहिलो, चेन्नई दोस्रो र दिल्ली तेस्रो स्थानमा छन् । १२ अंक ल्याएको सनराइजर्स हैदरावाद चौथो स्थानमा छ ।

मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेल्दै टिमलाई ९ विकेटको जित दिलाएका हुन् । १३४ रनको लक्ष्य मुम्बईले १६ ओभर १ बलमा एक विकेट गुमाएर पूरा गरेको हो ।

निर्णायक खेलमा पराजित भएपछि कोलकाता भने प्रतियोगिताबाट बाहिरिएको छ । कोलकाताको हारले सनराईजर्स हैदरावादलाई प्ले अफमा पुर्‍याएको हो । दुबै टोलीको समान १२ अंक भए पनि रनरेटका आधारमा हैदरावाद प्लेअफमा छानिएको हो । कोलकाता विजयी भइदिएको भए हैदरावादको यात्रा समाप्त हुन्थ्यो भने शीर्ष दुई टिममा चेन्नई र दिल्ली हुन्थे ।

गएरातिका खेलपछि आईपीएल क्रिकेटको प्ले अफ समीकरण पूरा भएको छ । लिगमा शीर्ष दुई स्थान लिएका मुम्बई र चेन्नईले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने भएका छन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले लिगमा तेस्रो स्थानको दिल्ली र चौथो स्थानको हैदरावादबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्