प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट जेठ पहिलो सातादेखि ,विजेतालाई २० लाख पुरस्कार

काठमाडौं, बैशाख २२ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता जेठ पहिलो सातादेखि हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने प्रतियोगिता आगामी जेठ १ देखि २४ गेतसम्म आयोजना हुने भएको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगिता २३ दिन सञ्चालन हुनेछ। तीन विभागीय टिम (त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ) र ७ प्रदेशका टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ।

प्रत्येक दिन एक खेल हुने प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिनेछ। समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशी ५० लाख रुपैयाँ रहेको इभेन्ट व्यवस्थापक नेपालय इन्टरनेशलले जनाएको छ। जसमा विजेतालाई २० लाख पुरस्कार प्रदान गरिनेछ।

उपविजेतालाई १० लाख दिनेछ भने प्रतियोगिताको उत्कृष्ट एक खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्। उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार प्राप्त गर्नेछन्।

प्रतियोगितामा छक्का एक हातले क्याच गर्ने दर्शकलाई ५० हजार रुपैयाँ प्रदान गरिने नेपालयका प्रवन्ध निर्देशक सुवास प्रधानले बताए। साथै दर्शकका लागि मैदानमा ट्रेन्टको व्यस्थान गर्ने पनि उनले बताए।

प्रतियोगिताको कुल बजेट १ करोड ७५ लाख रहेको छ। जसमा राष्ट्रिय खेलकुद परिषदले ८० लाख प्रदान गर्नेछ भने बाँकी रकम नेपालयले प्रायोजनमार्फत उठाउनु पर्नेछ।

प्रतियोगितामा यसपटक राष्ट्रिय टिमका कप्तान पारस खड्कासहित सिनियर खेलाडीले पनि खेल्ने प्रधानले विश्वास व्यक्त गरे। यसअघिका २ संस्करणका पारससहित सिनियर खेलाडी व्यक्तिगत कारण देखाउँदै अनुपस्थित थिए।

यहि महिना सकिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट भएका प्रदेश टिमले प्रधानमन्त्री कपमा सहभागिता जनाउने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केवशकुमार विष्टले जनाकारी दिए।

उनले आठौंका लागि छनोट भएको टिममा केहि हेरफेर भने हुन सक्ने बताए। सदस्यसचिव विष्टले प्रतियोगिताका विभिन्न कारणले जेठमा पुगेको बताए। नेपाल राष्ट्रिय टिमको तालिका र आठौं राष्ट्रिय खेलकुदका कारण प्रतियोगिता जेठमा पुगेको बताए।

प्रतिक्रिया दिनुहोस्