यो सरकारले गणतन्त्र जोगाउँछ कि जोगाउँदैन ? मिनेन्द्र रिजाल
काठमाडौं, बैशाख २२ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले गणतन्त्र जोगाउँछ कि जोगाउँदैन भन्ने शंका उब्जिएको बताएका छन्।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबार संसद्को छलफलमा संशोधन प्रस्तुत गर्दै रिजालले नीति तथा कार्यक्रमले गणतन्त्रप्रतिको भरोसा जोगाउन नसकेको आरोप लगाए।
‘हामी गणतन्त्रको बाटोमा हिँड्यौं,’ उनले भने, ‘संविधानले त्यो बाटो देखायो। तर, त्यसको भरोसा हुने नीति तथा कार्यक्रम आउन सकेन।’
‘नेपाल सरकार’लाई ‘मेरो सरकार’ बनाएको भन्दै उनले राजतन्त्रकालीन सरकारको बाटोमा अहिलेको सरकार हिँड्न खोजेको आरोप लगाए। ‘उबेला श्री ५ को सरकार हुन्थ्यो’, उनले भने, ‘सम्बोधनमा सम्मान नगरी आउथ्यो। अन्तिममा ‘पशुपतिले रक्षा गरुन्’ भनेर सम्बोधन टुंगिन्थ्यो। सरकार अहिले त्यही प्रवृतिमा हिँड्दैछ।’
उनले राष्ट्रपति जस्तो संस्थालाई आम नागरिकको आलोचनाको केन्द्र नबनाउन आग्रह गरे। ‘गणतन्त्र आएपछि मेरो सरकार भन्ने चलन गएको थियो’, रिजालले भने, ‘अघिल्लो पटकसम्म ‘यस सरकार’ भन्ने गरिन्थ्यो। यसपाली ‘मेरो सरकार’ भयो। यो भाषा र शैलीको कुरा मात्रै होइन। राष्ट्रपति जस्तो संस्थालाई आम नागरिकको आलोचनाको केन्द्र नबनाउनुहोस्।’
रिजालले गणतन्त्रको अभ्यास गर्दा ’कमनवेल्थका देश’ र भारतको अभ्यास हेर्न आवश्यक नरहेको समेत बताए। ‘गणतन्त्रको अभ्यास गर्दा कमनवेल्थ देशमा कसरी सम्बोधन हुन्छ, हेर्नुपर्दैन’, उनले भने, ‘सन् १९४७ सालमा स्वतन्त्र भएको (भारत) देशतिर कसरी सम्बोनधन गरिन्छ भनेर हेर्नुपर्दैन।’
राष्ट्रपतिको यात्राका क्रममा नागरिकलार्ई घन्टौं ट्राफिक जाममा पार्ने, टिका लागाउँदा पनि राजाले लगाएझैँ गर्ने काम गरिएको भन्दै उनले ‘यो सरकारले गणतन्त्र जोगाउँछ कि जोगाउँदैन्न?’ भन्ने आशंका उब्जिएको बताए।
‘घन्टौं बाटोमा ट्राफिक जाममा कुर्ने जनता, टिका बक्सिदा खेरी पनि मान्छे उभिने अनि आफू बसेर बक्सिने कामले नागरिकमा आशंका उब्जिएको छ, यो सरकारले गणतन्त्र जोगाउँछ कि जोगाउँदैन? त्यो कामबाट देखाउनुहोस’, उनले चुनौती दिए।
नीति तथा कार्यक्रममा नीतिगत स्पष्टता नभएको भन्दै उनले संघीयतालाई अझै कमजोर बनाउने बाटोमा सरकारको नीति तथा कार्यक्रम आएको आरोप लगाए।
त्यस्तै उनले लोकतन्त्रका आधारभूत कुरालाई अझै कमजोर बनाउने गरी नीति तथा कार्यक्रम आएको धारणा राखे।
प्रतिक्रिया दिनुहोस्