जापानको राजगद्दी नारुहितोले सम्हाले , राजसंस्थाको महत्व किन ?

काठमाडौं, बैशाख १८ । जापानका नयाँ सम्राट नारुहितोले बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन् । राज्यारोहणसँगै ५९ वर्षीय नारुहितो जापानका १२६औँ सम्राट भएका छन् ।

राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि पहिलो पटक भाषण गर्दै उनले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन् ।

छोटो मन्तव्यमा नारुहितोले भावुक हुँदै आफ्ना बुवा आकिहितोप्रति कृतज्ञता व्यक्त गर्दै उनले भने, ‘उहाँले आफ्नो कर्तव्य गम्भीरतापूर्वक ३० वर्षदेखि निर्वाह गर्नुभयो । उहाँले आफ्नो आचारबाटै ठूलो दयाभाव देखाउनुभयो । म उहाँप्रति हार्दिक सम्मान र प्रशंसा प्रकट गर्न चाहन्छु ।’

उनका बुवा आकिहितोले उमेर र स्वास्थ्यका कारण देखाउँदै पदत्याग गरेका थिए। आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका हुन् ।

बिहान आयोजित प्रतीकात्मक समारोहमा सम्राट नारुहितोलाई उनका पूर्वजको नासो हस्तान्तरण गरिएको थियो ।

नारुहितो नयाँ सम्राट बनेपछि ‘रेवा’ नाम दिइएको ‘नयाँ युग’ आरम्भ भएको छ । जापानी भाषामा रेवाको अर्थ सुव्यवस्था र सामन्जस्य हो । जापानमा सम्राट फेरिएपछि नयाँ युग सुरु गर्ने प्रचलन छ ।

जापानमा राजसंस्थाको महत्त्व किन ?


जापानको राजसंस्था अहिले विश्वमा अस्तित्वमा रहेकामध्ये सबैभन्दा पुरानो हो । यो इसापूर्व ६०० देखि सुरु भएको मान्यता छ ।

जापानमा सम्राटलाई ईश्वर मानिन्थ्यो । तर नारुहितोका हजुरबुवा सम्राट हिरोहितोले दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानले आत्मसमर्पण गर्दा सार्वजनिक रूपमा दैवी शक्ति परित्याग गरेको घोषणा गरेका थिए ।

हिरोहितोका छोरा आकिहितोले सम्राटको भूमिकाको पुनर्व्याख्या गरेर युद्धपछि जापानको छवि सुधारे ।

राजगद्दी त्यागेका आकिहितोलाई जापानी भाषामा ‘जोको’ भनेर सम्बोधन गरिनेछ। जोकोको अर्थ ‘बडासम्राट’ हो ।

अङ्ग्रेजीमा उनलाई ‘एम्परर इमेरिटस’ अर्थात् ‘मानार्थ सम्राट’ र मिचिकोलाई ‘एम्प्रस इमेरिटा’ अर्थात् ‘मानार्थ सम्राज्ञी’ भनिनेछ ।

प्रतिक्रिया दिनुहोस्