राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण

काठमाडौं, बैशाख १८ । भारत सरकारले प्रमुख विपक्षी दल कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई उनीसँग विदेशी नागरिकता भए नभएको स्पष्ट पार्न भनेको छ ।

देशमा निर्वाचन भइरहँदा गान्धीविरुद्ध परेको एउटा उजुरीमा कारबाही अघि बढाउँदै भारतको गृह मन्त्रालयले उनलाई सो विषयमा स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

सत्तारूढ भारतीय जनता पार्टीका वकिल सुब्रमनियन स्वामीले गान्धीले पहिला आफूसँग ब्रिटिश राहदानी भएको दाबी गरेको भन्दै उजुरी दर्ता गरेका थिए ।

राहुल गान्धीकी बहिनी तथा नेत्री प्रियङ्का गान्धीले संवाददाताहरूलाई भनिन्,पूरै भारतलाई राहुल गान्धी भारतीय हुन् भन्ने थाहा छ ।

सो दलका प्रवक्ता राजदीप सुर्जेवालाले भाजपा अत्तालिएको स्थितिमा भएको टिप्पणी गरेका छन् । राहुल गन्धीलाई पठाइएको पत्रमा यूकेमा दर्ता गरिएको एउटा कम्पनीको कागजपत्रलाई उद्धृत गर्दै स्वामीले उजुरी गरेको सङ्केत गरिएको छ ।

सन् २००५–२००६ मा प्रस्तुत ती कागजपत्रमा गान्धीले आफूलाई ब्रिटिश नागरिक घोषणा गरेको स्वामीको आरोप छ । तर ती उजुरीकर्ता बेलाबेला यस्तै विवादास्पद दाबी गरिरहन्छन् । उनले २०१५ मा पनि यस्तै दाबी गरेका थिए ।

तर सर्वोच्च अदातलले सो आरोपबारे छानबिन गर्नुपर्ने दाबीसहित दर्ता गरेको मुद्दा खारेज गरिदिएको थियो ।

स्वामीले राहुल गान्धी र उनकी आमा सोनिया गान्धीको शैक्षिक योग्यताबारे पनि प्रश्न उठाएका थिए । सोनिया गान्धीको मूल इटाली हो । त्यसै कारणले पनि उनलाई विवादमा तान्ने गरिएको छ ।

सन् २००४ मा विपक्षीहरूले यही विषयलाई चुनावी मुद्दा बनाउने प्रयास गरेका थिए । तर उनले भारतको नागरिकता लिन इटालीको राहदानी परित्याग गरिसकेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्