निर्माण व्यवसायी महासंघका अध्यक्षसहित २५ जनालाई ज्यान मार्ने धम्कीः सरकारले चासो नदिएको व्यवसायी गुनासो
काठमाडा, बैशाख १७ । निर्माण व्यवसायीहरुलाई ‘अननोन मोबाईल नम्बर’ बाट ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चासो नदिएको नेपाल निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष, महासचिवलगायतका २५ जनाभन्दा बढि निर्माण व्यवसायीहरुलाई ‘अननोन मोबाईल नम्बर’ ज्यान मार्ने धम्की आएको जानकारी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका अधिकारीहरुलाई जानकारी गराउँदा पनि चासो नदिएको भन्दै गुनासो गरेको हो ।
महासंघका अध्यक्ष रवि सिंहले दिनहुँ जसो आफूहरुमाथि पैसा नदिए महासंघका पूर्व अध्यक्ष सरदकुमार गौचनको झै गोली हानेर हत्या गरिदिने धम्की आउने गरेको बताए ।
महासंघका अनुसार अध्यक्ष सिंह, महासचिव रोशन दाहाल, पूर्व अध्यक्ष जीपछिरिङ लामालगायतका निर्माण व्यवसायीहरुमाथि दैनिक पैसा नदिए ज्यान मार्ने धम्की अननोन मोबाईलमार्फतआउने गरेको छ । तर सो जानकारी प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा, सुरक्षा अंगका प्रमुखहरुलाई जानकारी गराउँदा पनि धम्की दिने काम नरोकिएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक जानकारी गराउनु परेको पनि महासंघले जनाएको छ । अध्यक्ष सिंहले आफूहरुको सुरक्षाका लागि गम्भिर बन्न पनि सरकारको ध्यानाकर्षण गराए ।
महासंघले निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल गर्न गरिएको मागलाई पनि सरकारले बेवास्ता गरिरहेको भन्दै आपत्ति जनाएको छ । महासंघका अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानीको व्यवस्था नगरेका कारण विकास, निर्माणको कामनै ठप्प हुने अवस्था आएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्