मन्त्री ढकाल भन्छन्- मानवअधिकार आयोग सम्बन्धी ऐन फिर्ता हुँदैन

काठमाडौं, बैशाख १७ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मानवअधिकार आयोग सम्बन्धी ऐन फिर्ता नहुने जिकिर बताएका छन् ।

कानुन न्याय तथा मानव अधिकार समितिको आज सिंहदरवारमा बसेको बैठकमा उहांले संंसदमा पुगिसकेको विधेयक फिर्ता नहुने स्पष्ट पारे ।

मन्त्री ढकालले ऐनका केही प्रावधानमा समस्या भए छलफल गरि निकास निकाल्न भने सरकार तयार रहेको बताए ।

मानवअधिकार ऐन संशोधन विधेयक र संक्रमणकालीन न्यायबारे आयोगका पदाधिकारीसंगको छलफलमा मन्त्री ढकालले विधेयकलाई संसदले नै पूर्णता दिने बताए ।

बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोग पेरिस सिद्धान्तअनुसार स्वतन्त्र, स्वायत्त हुनुपर्ने तथा उसलाई पर्याप्त अधिकार दिनुपर्ने बताए ।

उनले सिफारिस नै आयोगको कार्यकारी अधिकार भएको र त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताए ।

समितिका सदस्यहरुले एकाएक आएको विधेयकले मानवअधिकारको ठाडो उल्लंघन गरेको गुनासो गरेका थिए ।

उनीहरुले मानवअधिकार आयोगको भूमिका खुम्च्याउदै जानुले राज्यमा सुशासनको प्रत्याभूति हुन नसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्