डोटीमा आगलागी हुँदा ७ सय ४४ हेक्टर वन क्षेत्र नष्ट, आगो नियन्त्रण बाहिर
काठमाडौं, बैशाख १७ । विभिन्न सामुदायिक तथा कबुलियती वनमा आगलागी हुँदा सात सय ४४ हेक्टर वन क्षेत्र नष्ट भएको छ ।
डिभिजन वन कार्यालय डोटीका निमित्त वन अधिकृत सुरेशचन्द्र डिसीका अनुसार, सामुदायिक तर्फका कम्तीमा ४५, कबुलियती तर्फका २ तथा अन्य केही सरकारी वनमा आगलागी भएको हो ।
वनमा लागेको आगो निभाउने प्रयास गरिरहेको भए पनि आगो नियन्त्रणमा आउन नसकेको अधिकृत डिसीले बताए । ‘पछिल्ला केही दिन यता पानी नपरेकाले पुरै जङ्गल सुख्खा छ, आगो निभाउने भरपुर प्रयास भए पनि सकिएको छैन, निभाउने प्रयास भइरहेको छ,’ उनले भने ।
डोटीमा तीन सय ६६ सामुदायिक र एक सय ९६ कबुलियती वनहरु रहेका छन् । सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र विरुवा सखाप भएको जोरायल गाउँपालिका(५, गड्सेराको मसानी सामुदायिक वनकी कोषाअध्यक्ष दुर्गादेवी विष्टले बताए । उनले भने , ‘आगोले साना बुट्यान र बिरुवाहरु सखाप पारेको छ, नयाँ बिरुवा उम्रिन लामो समय पर्खिनु पर्ने अवस्था देखिएको छ ।’
आगलागीसम्बन्धी जनचेतना गराउँदा गराउँदै पनि धेरै वनमा लागेको आगो नियन्त्रण गर्न नसकिएको वन कर्मचारीको भनाइ छ । कतिपय जङ्गलहरुमा स्थानीयबासीन्दा र उपभोक्ताले नयाँ घास उम्रिने आशले पनि वनमा आगो लगाउने गरेका छन् । अधिकांश वनमा आगो लाग्दा आँखा चिलाउने, सास फेर्न आप्ठ्यारो महसुस हुने, वातावरण धमिलो देखिनेजस्ता समस्या आउन थालेको जोरायल गाउँपालिका(२, का स्थानीय रामबहादुर मल्लले बताए।
यस क्षेत्रको वनमा बर्से्नि आगलागी हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्