आईपीएल: बैंगलोरलाई दिल्लीको १सय ८८ रनको लक्ष्य, केहीबेरमा सन्दीप बलिङमा उत्रँदै

काठमाडौं, बैशाख १५ । इन्डियन प्रिमियर लिग(आईपीएल क्रिकेटअन्तर्गत अहिले भईरहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले १ सय ८८ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८७ रन जोड्यो। दिल्लीको पालीमा शिखर धवन ५० र श्रेयर अयरले ५२ रन बनाए। धवन र अयरले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे।

दिल्लीले अन्तिम दुई ओभरमा ३६ रन जोड्यो। उसका सर्फाने रुथफोर्डले १३ बलमा अविजित २८ र अक्सर पटेलले ९ बलमा अविजित १६ रन जोडे।

यो खेलका लागि दिल्लीको टोलीमा सन्दीप फर्किएका छन्। उनलाई प्लेइङ(११ मा समावेश गरिएको हो।

घरेलु मैदानमा भईरहेको यो खेल जिते दिल्ली शीर्षस्थानमा उक्लने मात्र छैन प्ले अफमा पनि स्थान लगभग सुनिश्चित गर्ने छ। बै‌ंगलोर भने अगाडि बढ्ने होडबाट लगभग बाहिरिसकेको छ। प्रतियोगिताको आफ्नो सातौँ खेलमा आएर पहिलो जित हात पारेको बैंगलोरले पछिल्ला लगातार तीन खेल जितेको छ।

सन्दीपले पाँच खेलमा ८ विकेट लिएका छन्। दिल्लीको ११ खेलबाट १४ अंक छ। शीर्षस्थानमा रहेको चेन्नई सुपर किङ्सको १२ खेलबाट १६ अंक रहेको छ। मुम्बई इन्डियन्सको पनि ११ खेलबाट १४ अकं छ।

चौथो स्थानमा रहेको सनराइजर्स हैदरावादको ११ खेलबाट १० अंक छ। किङ्स इलेभेन पन्जाबको पनि ११ खेलबाट १० अंक नै छ।

प्रतिक्रिया दिनुहोस्