भारतमा बस दुर्घटना, १० जनाको मृत्यु , २६ मध्ये केहीको अवस्था गम्भीर
काठमाडौं, बैशाख १५ । भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा दश जनाको मृत्यु भएको छ ।
यात्रुबहाक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
शनिबार राति चम्बा जिल्लाको पन्चपुल गाउँमा दुर्घटना भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन् । घटनास्थल हिमाञ्चल प्रदेशको राजधानी शिम्लादेखि ३२७ किलोमिटर टाढा पर्दछ ।
‘गतराति यात्रु बोकेको बस पन्चपुल नजिकैबाट झण्डै २०० मिटर तल खस्यो, दुर्घटनामा परी दश जनाको घटनास्थलमै मृत्यु भएको छ,’ एक प्रहरी अधिकृतले भने ।
उनले अन्य केही घाइते भएका र उनीहरुको विभिन्न ठाउँमा उपचार भइरहेको पनि जानकारी दिएका छन् ।
प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । दुर्घटनामा परी चालक पनि घाइते भएका छन् ।
हिमाञ्चल प्रदशेका मुख्यमन्त्री जयराम ठाकुरले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति सहानुभूति व्यक्त गरेका छन् । –सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्