अब नेपाल टेलिकमको प्रिपेड मोबाइल भारत र चीनमा पनि चल्ने, प्रतिमिनेट शुल्क कति ?

काठमाडौं, बैशाख १५ । नेपाल टेलिकमको प्रिपेड मोबाइल अब भारत र चीनमा पनि चल्ने भएको छ ।

नेपाल टेलिकमले भोलि अर्थात् वैशाख १६ गते सोमबारदेखि प्रिपेड अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको हो । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने भएको छ ।


योसँगै नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन्।
त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने छन्।


चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ । चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्नेछ। त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ।

भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ। त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने छ।


भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्नेछ।

एसएमएसका हकमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैयाँ लाग्नेछ। एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन।

कम्पनीको वार्षिकोत्सवका अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्रा्ष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गरेका थिए।

सो सेवालाई हाल व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्