हङकङलाई ४ विकेटले हराउँदै नेपाल फाईनलमा

काठमाडौं, वैशाख १४ । नेपाल थाईल्यान्डमा जारी एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

शनिवार हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाईनलमा पुगेको हो । नेपालले उपाधिको लागि आईतबार सिंगापुर र मलेसिया मध्य एक टोलीसँग खेल्ने छ । मलेसिया र सिंगापुरबीच अर्को सेमिफाईनल खेल जारी छ

प्रतियोगिताको सेमिफाइनलमा नेपालले हङकङलाई चार विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा २१ ओभर चार बलमा पुरा गरेको हो ।

यसअघि नेपालले कसिलो बलिङ गर्दै हङकङलाई ८६ रनमै समेटेको थियो ।

थाइल्याण्डको चियाङमाईमा जारी खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले हङकङलाई ३२.२ ओभरमा ‘अल आउट’ गरेको थियो ।

नेपालका लागि निखिलकुमार सिंहले कसिलो बलिङ गर्दै ६ ओभर दुई बलमा १६ रन दिएर चार विकेट लिए । त्यस्तै विशालकुमार पटेल र रमेश कुर्मीले दुई–दुई विकेट लिए भने तिलकराज भण्डारीले एक विकेट लिए ।

हङकङका लागि आरुष भागवतले ४३ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बरु नेपाली बलरले १६ वाइड र चार रन ‘बाइ’ गरी हङकङलाई २० रन अतिरिक्त दिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले राम्रो सुरुवात गर्न सकेन । ब्याटिङमा लामो साझेदारी नहुँदा विकेट गुमाइरहे पनि सानो लक्ष्य भएकाले नेपालले सहजै जित हासिल गरेको हो ।

नेपालका लागि आशिष भट्टराईले सर्वा्धिक १७ रन बनाए । त्यस्तै, दीपक बोहराले ११, सुवास ऐरले १०, रोहन विकले १४ र कृष कार्कीले १२ रन बनाए ।

साविक विजेता नेपाल यस पटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

प्रतिक्रिया दिनुहोस्