इन्डियन प्रिमियर लिगः कोलकत्ताको लगातार छैटौँ हार, राजस्थानको रोमाञ्चक जित
काठमाडौं, वैशाख १३ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत को खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।
आईपीएल० क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राईडर्सलाई पराजित गरेको हो ।
इडेन गार्डेनमा भएको खेलमा राजस्थानले घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको १७६ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गरेको हो ।
अन्तिम ओभरमा पुग्दा निकै रोमाञ्चक बनेको खेल ओभरको दोस्रो बलमै नतिजा निकाल्न राजस्थानका जोफ्रा आर्चरले उत्कृष्ट ब्याटिङ गरे । २० औं ओभरको पहिलो बलमा चौका प्रहार गरेका उनले दोस्रो बलमा छक्का प्रहार गरेर चार बल बाँकी रहँदै म्याच आफ्नो पक्षमा पारे ।
राजस्थानको जितमा रियान परागले सर्वाधिक ४७ रन बनाए । यस्तै अजिंका रहानेले ३४ रन जोड्दा सन्जु सामसनले २२ रन बनाए । जोफ्रा आर्चर २७ रनमा अविजित रहे । कोलकाताका पियुस चावलाले ३ तथा सुनिल नारिनले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । कोलकाताका लागि दिनेश कार्तिकले अविजित ९७ रनको योगदान दिए । यस्तै नितेश रानाले २१ रन जोड्दा सुबमान गिल र आन्द्रे रसेलले १४÷१४ रन बनाए ।
राजस्थानका बरुण आरोनले २ विकेट लिए । यो जितसँगै राजस्थानले कोलकातासँग पहिलो भेटमा बेहोरेको हारको बदलासमेत लिएको छ । सिजनको पहिलो भेटमा कोलकाताले राजस्थानलाई ८ विकेटले पराजित गरेको थियो ।
जितसँगै राजस्थानले ११ खेलबाट ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा छ । पराजित कोलकाता पनि समान ११ खेलबाट ८ अंक जोडेर छैटौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्