इसाई धर्म प्रचार गर्दै हिँड्ने अमेरिकी नागरिकसहित ५ जना पक्राउ
काठमाडौं, बैशाख १२ । इसाई धर्म प्रचार गर्दै हिँड्ने अमेरिकी नागरिकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङ प्रहरीले २ विदेशी नागरिकसहित ५ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेकाहरु विरुद्ध मुद्दा दर्ता गरी दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको छ।
स्थानीयवासीको उजुरीको आधारमा घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्लेलाई पक्राउ गरी मुद्दा चलाएको हो।
उनीहरुको साथबाट बा १३ प ३१९६ स्कोर्पियो गाडी, बाइबलले भरिएका कार्टुन, रकम राखिएका खाम, ल्यापटप, पेनड्राइभलगायतका सामग्री बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए।
पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको उनले जानकारी दिए।
अमेरिकी नागरिकलाई संविधान विरोधी काम गरेकोले अध्यागमन विभाग पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्