पुनर्निर्माणको बाँकी काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्राधिकरणको प्रतिबद्धता

काठमाडौं, बैशाख १२ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको बाँकी काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर चारवर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनर्निर्माणको बाँकी काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले केही सम्पदाको पुनर्निर्माणको काम भने बाँकी रहन सक्ने पनि स्पष्ट पारे । आगामी २० महिनाभित्र पुनर्निर्माणको काम सम्पन्न गरी सक्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणका सचिव कार्कीले पुनर्निर्माणको काममा नेपाली समाजले देखाएको सक्रियताको पनि खुलेर प्रसंशा गरे ।

सचिव कार्कीले करिब ४ लाख निजी आवास पुनर्निर्माणको काम सकिएको र ३ लाख भन्दा बढि पुननिर्माणको काम सकिने चरणमा रहेको पनि जानकारी दिए ।

वर्तमान सरकारले भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाएको सचिव कार्कीको भनाई छ । उनले धरहरा, रानीपोखरीलगायतका सम्पदाहरुको पुनर्निर्माणको कामले पनि गति लिने विश्वास व्यक्त पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्