यू–१६ इस्टर्न रिजन क्रिकेट: नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं, बैशाख १२ । थाइल्याण्ड विरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको समूह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटमा नेपालले थाइल्याण्डलाई २३५ रनको विशाल लक्ष्य दिएको थियो । थाइल्याण्डको चियाङमाईमा भएको खेलमा घरेलु टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ३५ ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनायो ।

नेपालको इनिङमा आएश भट्टराईले अर्धशतकीय योगदान दिए । उनले नौ चौका प्रहार गर्दै ५८ रन जोडे ।यस्तै कप्तान विशाल विक्रम केसीले पनि ३१ बलमा ३८ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए ।

दिपक बोहराले ३६ बलमा पाँच चौका र एक छक्कासहित ३५ रन जोडे । आठौं विकेटका लागि विशाल कुमार पटेल र निखिल कुमार सिंहले २४ बलमा ४२ रनको साझेदारी गरेपछि नेपालले २३४ रन बनाएको हो ।

व्यक्तिगततर्फ विशालले २३ बलमा पाँच चौका प्रहार गर्दै २८ रन बनाए । त्यस्तै निखिलले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २२ रन जोडे । बलिङतर्फ नाराविट नुन्टाराचले तीन विकेट लिए भने योद्सक सारानोनाकुनले दुई विकेट लिए ।

जवाफमा थाइल्याण्ड एक ओभर ५ बलमा खाता खोल्न नपाउँदै १ विकेट गुमाएपछि भारी वर्षा सुरु भएकोले खेल रोकिन पुग्यो । त्यसपछि खेल सम्भव नहुँदा म्याच अम्पायरले खेल रद्द भएको घोषणा गरे । जसका कारण दुवै टिमले एक एक अंक बाँडे ।

यो खेलबाट एक अंक जोडेको नेपालले तीन खेलमा ५ अंकका साथ समूह एको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्