आठौं राष्ट्रिय खेलकुदः महिला भलिबलको स्वर्णपदक एपीएफलाई, पुरुष भलिबलमा पुलिसलाई स्वर्ण

काठमाडौं, वैशाख ११ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् बुधबार महिला भलिबल र पुरुष भलिबलका खेलहरु सम्पन्न भएका छन् ।

महिला भलिबलको स्वर्णपदक सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बाँकेको खजुरामा बुधबार भएको फाइनलमा प्रदेश नम्बर–३ लाई हराउँदै एपीएफले स्वर्ण जितेको हो ।

घरेलु खेलकुदमा महिला भलिबलमा एकछत्र राज गरेको एपीएफले सोही प्रदर्शन राष्ट्रिय खेलकुदमासमेत देखायो ।

एपीएफले प्रदेश–३ लाई सोझो सेटमा पराजित गर्न सफल भयो । एपीएफले २५–११, २५–१३ र २५–१९ को सेटको जित निकाल्न सफल भएको हो ।

महिला भलिबलतर्फ बुधबारै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लब विजयी बनेको छ । पुलिसले गन्डकी प्रदेशलाई पराजति गरेको हो ।

यसैबिच पुरुष भलिबलमा पुलिसले स्वर्णपदक जितेको छ ।

बाँकेकै खजुरास्थित भलिबल एकेडेमीमा भएको उपाधि भिडन्तमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई हराएको हो ।

पहिलो सेट २५–१८ ले जितेको पुलिसले दोस्रो सेट २३–२५ ले गुमाएको थियो । त्यसपछि पुलिसले लगातार दुई सेट २५–२० र २५–१८ ले जित्दै उपाधि पोल्टामा पारेको हो ।

तेस्रो स्थानका लागि भएको पुरुष भलिबलको खेलमा एपीएफ विजयी बन्यो ।

एपीएफले गन्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्‍यो । सुरुआती दुई सेट गुमाएको एपीएफले खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्