श्रीलंका आक्रमणः मृत्यु हुनेको संख्या ३५९ पुग्यो
काठमाडौं, बैशाख ११ । श्रीलंका आक्रमणबाट मृत्यु हुनेको संख्या ३५९ पुगेको छ ।
श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघरमा गत आइतबार भएको शृङ्खलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्यान्हसम्म ३ सय ५९ जना पुगेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारत, अमेरिका, बेलायत र जापान समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ ।
विस्फोटबाट झण्डै ५ सय व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।
राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो ।
विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तर्रा्ष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि मङ्गलबार राति सञ्चारकर्मीसँग कुरा गर्दै देशको सुरक्षा संयन्त्रले घटनामा विदेशी संलग्नताको आशङ्का गरेको र केही तथ्य प्रमाणले त्यही देखाएको बताउनुभयो ।
गए राति पनि श्रीलङ्काली प्रहरीले खोज अभियान सञ्चालन गरेको र त्यसक्रममा १८ जनलाई नियन्त्रणमा लिएको जनाएको छ । हालसम्म झण्डै ६० जनालाई पक्राउ गरिसकिएको छ ।
बौद्धमार्गीको बहुलता रहेको श्रीलङ्कामा झण्डै ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा विस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्