राष्ट्रपति भण्डारी नौं दिने राजकीय भ्रमणका लागि चीन प्रस्थानः यस्ता छन् भ्रमणका कार्यक्रमहरु

काठमाडौं, बैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

चीन प्रस्थान गर्नुअघि राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुले बिदाई गरेका थिए ।

चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा राष्ट्रपति भण्डारीले यो भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुने र उक्त फोरमलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी आफ्ना चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछिन् ।

अन्तर्रा्ष्ट्रिय बागवानी प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुँदै उनले त्यहाँ रहेको नेपाली मण्डपको अवलोकन पनि गर्ने छिन् ।

नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि दुबै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुनेछ ।

यो हस्ताक्षरपछि नेपालले चीनका चार सामुन्द्रिक र दुई सुक्खा बन्दरगाह प्रयोग गर्ने बाटो व्यवहारिक रुपमा खुल्नेछ ।

उनले वरिष्ठ चिनियाँ अधिकारीहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

प्रतिक्रिया दिनुहोस्