इन्डियन प्रिमियर लिग : सन्दिप लामिछाने आबद्ध दिल्ली शीर्ष स्थानमा, राजस्थान पराजित

काठमाडौं , बैशाख १० । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीए) क्रिकेटमा नेपाली खेलाडी सन्दिप लामिछाने रहेको दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई ६ विकेटले पराजित गरेको हो ।

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा भएको खेलमा राजस्थानले दिएको १९२ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्‍यो ।

दिल्लीको जितमा ऋषब पन्त र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका ऋषबले ७८ रनको योगदान दिए ।

यस्तै धवनले ५४ रन जोड्दा पृथ्वी शा ले ४२ रन बनाए । राजस्थानका लागि श्रेयस गोपालले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । राजस्थानका लागि अजिंका रहानेले १०५ रनको शतकीय इनिङ्स खेले ।

अविजित रहेका रहानेले ६३ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा स्टुवार्ड बिनीले १९ रन बनाए । दिल्लीका कागीसो राबडाले २ विकेट लिए ।

यस्तै इशान शर्मा, क्रिस मोरिस र अक्षर पटेलले १र१ विकेट लिए । जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ११ खेलबाट १४ अंक जोडेको छ ।

दिल्लीले चेन्नईलाई पछि पार्दै शीर्ष स्थान ओगेटेको हो । एक खेल कम खेलेको चेन्नईको पनि १४ अंक छ ।

पराजित राजस्थान पुछारबाट दोस्रो स्थानमा छ । राजस्थानले १० खेलमा ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्