इंग्लिस प्रिमियर लिग : लिभरपुल उपाधि होडमा बलियो, फर्कियो शीर्षस्थानमा

काठमाडौं, बैशाख ९ । उपाधि होडमा लगातार कायम रहेको लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको पुनः शीर्षस्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा कार्डिफ सिटीमाथि २–० को जित निकाल्दै लिभरपुल पुनः म्यानचेसटर सिटीलाई पछि पारेर शीर्षस्थानमा फर्किएको हो ।

उपाधि होडमा लिभरपुल र म्यानचेस्टर सिटीको होड रहेको छ । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा गोल गर्न नसकेको लिभरपुलले दोस्रो हाफमा दुई गोल गरेर आफूलाई उपाधि होडमा कायम राखेको हो ।

लिभरपुलका लागि ५७ औँ मिनटमा जर्जिनिओ विनाल्डम र ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा जेम्स मिल्नरले गोल गरेका हुन् ।

जितपछि लिभरपुलको ३५ खेलबाट ८८ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ८६ अंक छ । लिभरपुलसँग पराजित भएको रेलिगेशनको खतरामा रहेको कार्डिफ ३१ अंकसहित १८ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्