श्रीलंकामा विस्फोटको श्रृंखला नरोकिएपछि कर्फ्यु: दिनभरमा ८ विस्फोट, १८५ जनाको मृत्यु, प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

कोलम्बो, बैशाख ८ । श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको श्रृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

ईस्टरको अवसर पारेर होटल तथा चर्चलाई निशाना बनाइ लगातार विस्फोट हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।
विस्फोटमा १८५ जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । विस्फोट कसले गराएको हो भन्ने प्रष्ट हुन सकेको छैन ।

समाचार एजेन्सीहरुका अनुसार तीन चर्च र तीनवटा पाँचतारे होटलमा विस्फोट भएको छ । नेशनल हस्पिटलमा ४६ जनाको शव राखिएको बताइएको छ ।

त्यस्तै नेगोम्बो हस्पिटलमा ७४, कटना चर्चमा ३१, रगमा हस्पिटलमा ७ र बट्टिकालोआमा २७ जनाको मृत्यु भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

यसैबिच यता प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम बिस्फोटनको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सन्देशम भनेका छन्, ‘आज बिहान श्रीलंकका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध बम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ ।’

प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सरकारले मानवता विरोधी जघन्य घटनाको भत्सर्ना गरेको उल्लेख गरेका छन् । ‘यस्तो आपराधिक घटनामा संलग्न अपराधीहरुलाई सकेसम्म चाँडै कानुनको दायरामा ल्याइनेछ भन्ने कुरामा म विश्वस्त छु ।

नेपाल आतंकवाद विरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतंकवादको कडा शब्दमा निन्दा गर्दछ’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट घटनाका मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । ‘दुःखको यस घडीमा हामी श्रीलंकाका मिलनसार जनताका साथ उभिएका छौ । म घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्