आजदेखि स्वास्थ्य संस्थाको निरीक्षण, विशेषज्ञसम्मिलित समितिले अनुगमन गर्ने

काठमाडौँ , बैशाख ८ । सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचीकरण गर्न निवेदन दिएका १२६ स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक सूचना जारी गर्दै कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन निवेदन दिएका ती स्वास्थ्य संस्थाको विशेषज्ञसम्मिलित समितिले अनुगमन गर्ने जनाएको छ ।

मन्त्रालयले अनुगमनका क्रममा आउने प्राविधिकसमेतको टोलीलाई आवश्यक विवरण उपलब्ध गराई अनुगमन÷निरीक्षणमा सहयोग गर्न सम्पूर्ण स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका तीन जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अघिकृत रहेको चारवटा टोली अनुगमनमा जानेछ । चारमध्ये तीन वटा टोली उपत्यका बाहिरका अस्पतालको निरीक्षणमा जानेछ भने उपत्यकामा एक टोलीले निरीक्षण गर्नेछ ।

अनुगमन टोलीले १५ दिनभित्र सूचीकरणका लागि निवेदन दिएका स्वास्थ्य संस्थाको निरीक्षण गरी तोकिएको मापदण्ड पुगेको स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणका लागि स्वीकृति दिन सरकारलाई सिफारिश गर्नेछ ।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सीमित स्वास्थ्य संस्थाको एकाधिकार रहेको भन्दै मन्त्रालयले गत चैत १३ गते सम्बन्धित निकायमा दर्ता भई सञ्चालनमा आएका स्वास्थ्य संस्थालाई सूचीकरणका लागि आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्