एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालको सहज जित ,म्यानमार ७ विकेटले पराजित
काठमाडौंं, बैशाख ७ । नेपालले थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई सात विकेटले हरायो ।
थाइल्याण्डको चियाङमाई मैदानमा म्यानमारले दिएको ५९ रनको सामान्य विजयी लक्ष्य नेपालले ८.१ ओभरमा तीन विकेको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा अर्जुन कुमालले अविजित २६ रन बनाए ।
सुवास ऐरले ११ रन जोडे । बलिङमा म्यानमारका काउङ क्याले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १३.२ ओभरमा सबै विकेट गुमाएर ५८ रनमा समेटिएको थियो ।
म्यानमारका काउङ क्याले १९ र क्रिस्टोफरले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्ने सकेनन् ।
म्यानमारलाई सस्तैमा समेट्न नेपालका कप्तान विशाल विक्रम केसीले चार विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अंक बनाएको छ । नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्