विप्लवले गरेको बन्दको देशभरी नै आंशिक प्रभाव, विभिन्न ठाउंमा शंकास्पद बस्तु फेला

काठमाडौं, बैशाख ५ । उपत्यकासहित देशभरी नै बिहीबार फाट्टफुट्ट मात्र गाडी चलेका छन् । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । परीक्षा दिन हिँडेका विद्यार्थी मर्कामा परेका छन् ।

यस्तै बजार र कलकारखाना पनि खुलेका छैनन् । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको देशभरी नै आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।
उता पाल्पाको रिब्दीकोट गाँउपालिकाको भवनमा बम विस्फोट भएको छ । बिहीबार बिहान करिब २ बजे तिर भएको विस्फोटबाट कार्यालयमा क्षति पुगेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो ।

कार्यालयको झ्यालढोका, छानो, कम्प्युटर, फोटोकपी मेशिनलगायतका सामग्रीमा क्षति पुगेको अध्यक्ष जिसीले बताउनुभयो ।

कार्यालयमा टायर बम विस्फोट भएको र घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिहीबार विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेकाले त्यही समूहले बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बम विस्फोटपछि स्थानीय त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्