हेटौंडा उपमहानगरको वडा कार्यालय अगाडि प्रेसरकुकर बम: पोखराको प्रदेशसभा भवन नजिकै शंकास्पद बस्तु फेला , लेखनाथमा पनि भेटियो
काठमाडौं, बैशाख ५ । हेटौंडा उपमहानगरपालिकाको वडा नं. ८ कार्यालय अगाडि ‘बम’ लेखेर राखिएको अवस्थामा प्रेसरकुकर फेला परेको छ ।
वडा कार्यालयको गेटमै प्रेसरकुकरमा ‘बम’ लेखेर प्रेसरकुकर राखेको पाइएपछि सुरक्षाकर्मीले सो स्थान घेराबन्दी गरी निस्क्रिय बनाउने प्रयास गरेका छन् ।
विप्लव नेतृत्वको समूहले बन्द आह्वान गरेका कारण उक्त बम सोही समूहले राखेको हुन सक्ने प्रहरीको आशंका छ ।
यस्तै हेटौंडा उपमहानगरपालिका–१९ तिनताप्केमा पनि शंकास्पद बस्तु फेला परेको जनाइएको छ । तारसहित प्रेसरकुकर फेला परेपछि सो क्षेत्रमा पनि सुरक्षाकर्मी पुगेर उक्त वस्तुको पहिचान तथा निस्क्रिय पार्ने प्रयास गरिरहेको जनाइएको छ ।
पोखराका दुई ठाउँमा शंकास्पद बस्तु
पोखराका दुई ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् ।
पोखराको नदीपुरस्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको पाइएको हो । उक्त बस्तु बम हुन सक्ने प्रहरीको आंशका छ ।
नेपाली सेनाको बम डिस्पोजल शंकास्पद बस्तु हटाउन खटिएको छ ।
लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली त्यसतर्फ जाँदैछ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही समूहले राखेको हुन सक्ने आशंका छ ।
यद्यपी, बन्दको प्रभाव पोखरामा सामान्य छ । ठूला गाडीहरु नचले पनि निजी साधनहरु चलिरहेका छन् । पसलहरु भने अन्य दिनभन्दा कम खुलेका छन् ।
प्रतिक्रिया दिनुहोस्