प्रभु बैंकले दिने भयो ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण

काठमाण्डौ, बैशाख ४ । प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । बैंकले ऋण दिने गरि ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्र अनुसार बैंकले पनि सहुलिय तरुपमा कर्जा उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गरेका हुन् ।

बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै बैंकले सहुलियतपूर्ण ऋण प्रवाहका ७ प्रकारका कर्जा योजना सार्वजनिक गरेको हो । जसअनुसार, व्यवसायिक कृषि तथा पशुपन्क्षीको विकासका लागि ५ करोड कर्जा दिन सकिने योजना छ ।

त्यसैगरी शिक्षित युवा तथा रोजगारीका लागि ५ वर्षका लागि ७ लाख कर्जा प्रवाह गर्ने योजना रहेको पनि प्रमुख कार्यकारी अधिकृत शेरचनले जानकारी दिए । त्यसका लागि कम्तीमा स्नातक तह उतीर्ण गरेको तथा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ ।

बैंकले विदेशबाट फर्किएका युवाहरुका लागि १० लाख कर्जा प्रवाह गर्ने योजना तय गरेको छ । ग्रीन कार्ड होल्डरको हकमा भने यो योजना लागू नहुने पनि बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले स्पष्ट पारे ।

महिला उद्यमशीलताका लागि ५ वर्षका लागि १५ लाख, दलितहरुको व्यवसाय उत्थानका लागि १० लाख, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितका लागि ५ वर्षका लागि ३ लाख कर्जा प्रवाह गर्न सकिने योजना पनि बैंकले सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले ती सबै योजना बैंकका सबै शाखाहरुबाट दिने व्यवस्था गरिएको पनि बताए।

प्रभु बैंकले सबै स्थानीय तहमा बैंक सेवा पुर्‍याउन ब्रान्चलेस बैंकिङ प्रणाली सुरु गर्ने तयारी पनि गरेको छ । ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय १५ वटामा मात्रै बैंकिङ सेवा पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत शेरचनले बैंकिङ सेवा सञ्चालनका लागि कठिनाई भैरहेका बाँकी स्थानीय तहमा पनि ब्रान्चलेस बैंकिङ प्रणाली स्थापना गर्ने तयारी गरिएको बताए।

बैंकले १० लाखभन्दा बढीको कर्जाका लागि संस्था र १ करोडभन्दा बढिका लागि कम्पनी दर्ता भएको हुनुपर्ने पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्