थाल ठटाउँदै चिया मजदुरले निकाले जुलुस, न्यूनतम पारिश्रमिक तत्काल लागु गर्न माग
काठमाडौं ,बैशाख ४ । चिया मजदुरले बुधबार झापाको बिर्तामोडमा थाल ठटाउँदै सडकमा जुलुस निकालेका छन्।
सरकारले चिया श्रमिकका लागि तोकेको न्यूनतम ज्याला बगान सञ्चालकले कार्यान्वयनमा नल्याएको भन्दै बिर्तामोडमा जुलुस निकालेका हुन्।
सरकारले गत साउन १ गते देखि चिया बगान तथा कारखानामा कार्यरत श्रमिकका लागि न्यूनतम ज्याला तोके पनि उक्त ज्याला नपाएको भन्दै चिया मजदुर चैत १७ देखि आन्दोलित बनेका छन् ।
उनीहरुले विभिन्न समयमा झापाका भद्रपुर, काँकडभिट्टालगायतका स्थानमा कोण सभा र जुलुस निकाल्दा समेत माग पुरा नभएको भन्दै आज झापाको बिर्तामोडमा थाल ठटाउँदै जुलुस निकालेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडको बिएण्डसी अस्पाताल अघिबाट सुरु भएको मजदुरको जुलुसले मुक्तिचोक परिक्रममा गरेको थियो ।
उपस्थित मजदुरले थाल ठटाउँदै सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल लागु गर्न माग गरेका थिए ।
सरकारले तोके बमोजिम चिया बगानमा कार्यरत श्रमिकले न्यूनतम आधारभुत पारिश्रमिक दैनिक २ सय ३१ र महंगी भत्ता १ सय ५४ गरी जम्मा ३ सय ८५ पाउनुपर्ने हो ।
तर, सरकारले श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक नेपालका चिया बगानमा कार्यरत मजदुरले नौं महिना बितिसक्दा सम्म पाउन सकेका छैनन् ।
झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुममा बढि चिया खेती हुने भएकाले ती जिल्लामा बढी मजदुर कार्यरत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्