मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच सहकार्यमा सम्झौता

मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथ कृषि कम्पनीसंग सहकार्य गर्ने भएको छ । यसका लागि दुबैबीच सम्झौता भएको छ ।

सो सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरतराज ढकालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहक सदस्यहरुलाई कृषिमा आधारित उद्यम/व्यवसायगर्न आवश्यक पर्ने मल, बीउ, विजन, उपकरण र प्राविधिक ज्ञान समेत प्रदान गरी ग्राहक सदस्यहरुबाट उत्पादित कृषि उत्पादनहरुलाई बजारको ग्यारेन्टी गर्ने कार्य मुक्तिनाथ कृषि कम्पनीले गर्नेछ ।

मुक्तिनाथ विकास बैंकले विगत १२ वर्षदेखि ग्रामीण भेगहरुमा समेत सबै वर्गका नागरिकहरुलाई समावेशी वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ । कृषि पेशामा निर्भर किसानहरुलाई वित्तीय सेवाका अतिरिक्त कृषि सम्बन्धी व्यवस्थाप नगर्न आवश्यक देखिएकोले कम्पनीसंग सहकार्य गरिएको हो ।

मुक्तिनाथ कृषिकम्पनी कृषिलाई मुख्य पेशाको रुपमा अंगालेका कृषकहरुलाई प्रत्यक्ष तथा कृषि सहकारीहरु मार्फत पनि गैर वित्तीय सेवाहरु जस्तैः बीउविजन, मल, उपकरण, औजार, प्रविधि तथा क्षमता विकास र बजारिकरण समेतका सेवाहरु प्रदान गर्ने उद्देश्य सहित रु. ४० करोड जारी पूँजीमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनीहो ।

किसानहरुको यस कम्पनीसंगको सहकार्यले किसानहरुले हालभोगेका कृषि उपजको बजारिकरण सम्बन्धी समस्याहरुको दिगो समाधानहुने र उत्पादनको उचित मूल्य प्राप्त गर्ने अपेक्षा गरिएको छ । भविष्यमा कम्पनीले कृषि सम्बन्धी अन्य आवश्यक विविध प्रकारका कार्यहरु विस्तार गर्दै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्