बेलायत ल्यायो नेपालमा ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ : ४ वर्ष भित्र ९० हजार बढि विपन्न नागरिकलाई रोजगारी दिने
काठमाडौं, बैशाख ४ । बेलायत सरकारले नेपालको विपन्न ९० हजार नागरिकलाई ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याएको छ ।
बेलायती नियोग डिएफआईडी, नेपालले बुधबार काठमाडौंका एक कार्यक्रमको आयोजना गरी नेपालमा ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याइएको जानकारी गराएको हो ।
४ वर्ष भित्र ९० हजार बढि विपन्न नेपाली नागरिकलाई सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारी दिने गरी सो कार्यक्रम संचालन गरिएको कार्यक्रमका उपप्रमुख प्रशन्न केसीले जानकारी दिए ।
कार्यक्रम प्रदेश दुईको धनुषा जिल्ला र प्रदेश ५ को वुटवल–भैरहवामा केन्द्रित हुनेछ ।
सबैभन्दा बढि विदेशिएका धनुषा जिल्ला नागरिकलाई त्यहीँ रोजगारीको अवसर सृजना हुने गरी र उद्योग धन्दाको सम्भावना बढि रहेकाले बुटवल–भैरहवामा सो कार्यक्रम केन्द्रित गरिएको पनि कार्यक्रमका उपप्रमुख केसीले बताए ।
कार्यक्रम अनुसार विपन्न वर्गका नागरिकहरुलाई कृषि, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासको काममा दक्ष हुने गरी आवश्यक तालिम दिइनेछ ।
नेपाल सरकार, निजी क्षेत्र र सामाजिक संघ, संस्थाहरुसँगको सहकार्यमा संचालन हुने सो कार्यक्रमको ५० प्रतिशत खर्च बेलायत सरकारको तर्फबाट डिएफआईडीले व्यहोर्ने छ भने बाँकि खर्च सहकार्य गरिरहेका संस्थाहरुले व्यहोर्नु पर्नेछ ।
कार्यक्रमका उपप्रमुख केसीले विपन्न वर्ग भित्र पनि महिला र शारिरीक रुपमा अशक्त रहेकाहरुलाई पहिलो प्राथमिकता दिने पनि स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्