टिक टकलाई एप स्टोरबाट हटाउन सरकारको आग्रह

काठमाडौं, बैशाख ३ । भारत सरकारले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ ।

मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो ।

भारतको सुचना तथा प्रविधि मन्त्रालयले गरेको आग्रह मानेर गुगल र एप्पले एप झिकेको खण्डमा भारतमा टिकटकलाई ठूलो धक्का लाग्नेछ । पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन् । तर, नयाँ डाउनलोड गर्न सकिनेछैन ।

‘उच्च अदालतले सरकारलाई टिकटक डाउनलोड गर्न प्रतिवन्ध लगाउन अनुरोध गरेको थियो । मन्त्रालयले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट यसलाई झिक्न अनुरोध गरेको छ । हाम्रो अनुरोध स्वीकार्ने वा अस्वीकार गर्ने उनीहरुको हातमा छ,’ मन्त्रालयका एक अधिकारीले इकोनोमिक टाइम्सलाई भनेका छन् ।

टिकटक गत वर्ष विश्वभरी सर्बाधिक संख्यामा डाउनलोड भएको एप हो । भारतमा यसका करोडौं प्रयोगकर्ता छन् ।

यता भारतले गरेको आग्रहमा गुगल र एप्पले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्