यू–१९ विश्वकप छनोट : ओमानमाथि नेपालको शानदार जित

काठमाडौं, बैशाख ३ । मलेसियामा जारी आईसीसी यु–१९ एकदिवसीय विश्वकप क्रिकेट एशिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ।

टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रन बनाए।

८१ बल खेलेका उनले पाँच ५ चौका र २ छक्काको मद्दतमा ७५ रन बनाएका हुन्। यस्तै प्रतिस जिसीले ४१, भिम सार्कीले ३९, अभिषेक बस्नेतले १५ र रित गौतमले १० रनको योगदान दिए।

बलिङतर्फ पवन सरार्फले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका उनले २ मेडन सहित २४ रन दिएर ३ विकेट लिएका हुन्।

यस्तै सूर्य तामाङ र प्रतिस जिसीले दुई–दुई, कुशल मल्ल, भिम सार्की र कमलसिंह ऐरीले एक–एक विकेट लिए।

२३० रनको लक्ष्य पछ्याएको ओमानले ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै ७९ रन मात्रै बनाउन सक्यो। ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले समान १३ रन बनाए पनि अन्यले दोहोरो अंक छुन सकेनन्।

बलिङतर्फ ओमानका जिल तन्ना, अजाम अली, सन्जय रविन्द्र र मुजाहिर राजाले दुई–दुई विकेट लिए भने एस मेहता र प्रथामेश कुम्लेले एक –एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्