प्रधानमन्त्री रोजगार कार्यक्रम: आवेदन दिने म्याद थप्ने तयारी

काठमाण्डौ , बैशाख २ । बेरोजगारले रोजगारीका लागि आवेदन दिने म्याद सकिएको छ तर पनि आवेदन दिने म्याद थप्ने सरकारको तयारी रहेको छ ।
सरकारले बेरोजगार दर्ताका लागि चैत मसान्तसम्मको समय दिएको थियो ।

तर पहिलो वर्ष भएकाले समय थप्ने सरकारले तयारी गरेको हो । सरकारले निर्णय गरेर समय थप्न सक्ने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले बताएका छन् ।

चैतसम्म कतिले रोजगारीका लागि आवेदन दिए भन्ने विवरण संकलन भैसकेको छैन ।

छुटेकाहरुलाई अझै एकपटक मौका दिने सरकारको तयारी छ ।

बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सकिन्छ ।

निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ ।

त्यसपछि स्थानीय तहमै रहेको रोजगार सेवा केन्द्रले निवेदक बेरोजगार भए नभएको छानबिन गर्नेछ ।

स्थानीय तहका रोजगार संयोजकले जेठ मसान्तसम्म न्यूनतम १०० दिन रोजगारी पाउनेहरुको संख्या छुट्याउनेछ ।

अहिले सरकारले रोजगार संयोजक नियुक्त गरेर स्थानीय तहमा पठाउने काम सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्