यू–१९ विश्वकप एसिया छनोट: नेपाल युएईसित १ रनले पराजित

काठमाडौं, चैत ३० । आइसीसी यु–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

शनिबार भएको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स ९युएई० सित डकवर्थ लेविस ९डीएल० पद्दतिका आधारमा १ रनले पराजित भएको हो ।

क्वालालम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा वर्षा बाधक बनेपछि नेपालले पराजय व्यहोरेको हो ।

नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिँदा खेलको निर्णय डीएलबाट गरिएको थियो ।

डीएलमा ३० ओभरमा जितका लागि १२२ रनको नयाँ लक्ष्य पाएपछि युएईले १ रनको जित निकालेको हो ।

वर्षाले खेल रोकिनुअघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन जोडेको थियो ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा अलआउट हुँदै २४७ रन बनाएको थियो ।

नेपालका लागि भीम सार्की र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका हरिले ७४ बलमा ६७ रन बनाए । भीमले ५४ बलमा ५३ रनको योगदान दिए । हरि र भीमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।

यस्तै, नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोड्दा आरिफ शेखले २७ रन बनाए ।

कप्तान रोहितकुमार पौडेल १८ रनमा आउट हुँदा पवन सर्राफले १२ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्