आज चैते दसैं तथा रामनवमी पर्व मनाइँदै, देशभरका शक्तिपीठमा बहानैदेखि भक्तजनको भीड
काठमाडौं, चैत ३० । आज चैते दसैं तथा रामनवमी पर्व । चैते दसैंको भोलिपल्ट रामनवमी पर्व मनाइने गरेको भए पनि यस वर्ष दुवै तिथि एकै दिन परेकाले चैते दसैं तथा रामनवमी पर्व एकै दिन मनाइँदै छ ।
चैते दसैं शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने परम्परा छ । असुर शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैंलाई नेपाली समाजमा महत्वका साथ हेरिन्छ । वर्षमा दुई पटक, चैत र असोजमा मनाइने दसैंका अवसरमा गरिने दुर्गा पूजाको विशेष महत्व छ ।
यस दिन घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । शक्तिस्वरूपा भगवतीको आराधनाको महत्व सप्तशती चण्डी, देवीभागवत्, कालिका पुराण आदिमा उल्लेख छ ।
चैते दसैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुहेश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
यस्तै रामनवमीको अवसरमा श्रद्धा तथा भक्तिपूर्वक मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरिँदै छ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । देशभरका राम मन्दिरहरुमा पूजापाठ गरी यो चाड मनाइँदै छ ।
असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको हो । त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।
यसैबीच, जनकपुरमा राम नवमीको अवसरमा जानकी मन्दिरमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । यो दिन जनकपुरको प्रसिद्ध दूधमति नदीमा नुहाई रामजानकी मन्दिरमा पूजापाठ गर्दा मनोकांक्षा प्राप्त हुने जनविश्वास छ । जनकपुरको रामजानकी मन्दिरसहितका मठमन्दिरहरुमा श्रद्धालु भक्तजनले पवित्र सरोबर गंगा सागरमा स्नान गरी पूजा पाठ गरेका छन् । यस अवसरमा नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुर आएका छन् ।
प्रतिक्रिया दिनुहोस्