मलेसियाका लागि चार दिनमा ६४ जनाले लिए श्रम स्वीकृति

काठमाडौँ, चैत २९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेसिया जाने कामदारका लागि खुला गरेपछि चार दिनमा ६४ जनाले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् ।

सरकारले यही चैत १७ गतेदेखि खुला गरेपछि कार्यालयले चैत २५ गतेदेखि श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए ।

‘सरकारले खुला गरेपछि मलेसिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ’, उनले भने । सरकारले गत जेठदेखि मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उनी बताउँछन् ।

मलेसियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका सम्पूर्ण कामदारलाई नियमित रुपमा श्रम स्वीकृति दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्