बालुवाटार जग्गा प्रकरण: सञ्चारमन्त्रीले भने – ‘विष्णु पौडेल अपराधी होईनन्, जग्गा दलालबाट ठगीमा पर्नुभो’ उहाँले क्षतिपूर्ति पाउनुपर्छ

काठमाण्डौ , चैत २८ । सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल ठगिएको बताएका छन् ।

बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । मन्त्री बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा लगिएको विषयमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई नछाड्ने बताए ।

उनले भने, ‘सो जग्गा प्रकरणमा नेकपाका महासचिवको समेत नाम जोडिएको उल्लेख गर्दै महासचिव पौडेलले विज्ञप्ति मार्फतनै स्पष्ट पार्नुभएको छ’ उनले भने,‘उहाँ ठगिनुभो, अपराधी हुनुहुन्न् । उहाँले जारी गरेको विज्ञप्तिको आधारमा उहाँ पीडित बन्नुभएको छ । त्यहाँ सर्वसाधारणले पनि जग्गा किनेका होलान्, यसलाई राजनीतिकरण गर्ने काम भयो ।’

मन्त्री बास्कोटाले सार्वजनिक जग्गालाई निजीमा ल्याउनेलाई छानविन गरेर तत्काल कार्वाही गर्ने बताए । मन्त्री बास्कोटाले भने, ‘सरकारी सम्पतिको रक्षा गर्नु नै सरकारको दायित्व हो, सरकारले अहिले जग्गा रोक्का गरेको छ । नेकपाका महासचिवले जग्गा किन्नु नै संलग्नता होला र रु उहाँलाई त झुक्याइएछ ।’

बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा गएपछि सरकारले यस अगाडि नै शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानविन समिति बनाइएको र अध्ययन भैरहेको मन्त्री बास्कोटाले बताए । उनले सार्वजनिक जग्गा व्यक्तिका नाममा भएको पाइएमा सरकारले सत्यतथ्य पत्ता लगाएर आफ्नो नाममा ल्याउने दाबी गरे ।

सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएकाले यसमा कुनै पनि बहानामा कसैलाई छुट नदिने उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्