प्रदेश निजामती र स्थानीय सेवा सन्चालनसम्बन्धी मापदन्ड तयार

काठमाडौं, चैत २८ । सरकारले समायोजनपछि कर्मचारीलाई प्रदेश र स्थानीय तहबाट बढुवा भएर संघमा आउने व्यवस्था गर्न थालेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रदेश निजामती सेवा र स्थानीय सेवा सन्चालनसम्बन्धी मापदन्डमा समायोजनपछि पनि कर्मचारी प्रदेश र स्थानीय तहमा खुलाबाहेक अन्य तरिकाबाट संघमा आउने व्यवस्था गरिएको मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले जानकारी गराए ।

मन्त्रालयले प्रदेश र स्थानीय तहको सेवासम्बन्धी मापदन्डको मस्यौदा तयार पारेर छलफलका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको छ ।

मापदन्डमा प्रदेशभित्रकै स्थानीय तहमा सरुवा हुने, प्रदेशभित्रका मन्त्रालयमासमेत सरुवा हुनेलगायतका व्यवस्था गरिएको छ ।

निमित्त सचिव अधिकारीले ती मापदन्ड मन्त्रिपरिषद्बाट स्वीकृत गराएर प्रदेश र स्थानीय तहमा पठाइने जानकारी गराए ।

मन्त्रालयले तयार पारेको प्रदेश र स्थानीय तहको सेवा सन्चालनसम्बन्धी मापदन्डका आधारमा प्रदेश निजामती सेवा ऐन र स्थानीय तह सेवा सन्चालन ऐन बनाउनेछन् ।

प्रदेश र स्थानीय तहले मापदन्डलाई हुबहु वा परिमार्जन गरेर कर्मचारी सेवासम्बन्धी ऐन बनाउन सक्ने उनले जानकारी गराए ।

अहिले प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा–सुविधा, सर्तसम्बन्धी कानुन रहेको छैन ।

प्रतिक्रिया दिनुहोस्