प्रधानमन्त्री ओली भन्छन् – नेपाल एकिकरण र नेपाली सेनाको सम्बन्ध अन्योन्याश्रित छ
काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकिकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताएका छन् ।
सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई आज खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढाएको राष्ट्रिय एकिकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकिकृत गरी नेपाल निर्माण गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगत देखि नै उल्लेखनीय कार्य गरेको स्पष्ट पारेका छन् ।
‘नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन,राष्ट्र निर्माणका कार्यहरु,नागरिक सैनिक सम्बनध बिस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ ।’
प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश अहिले स्थायीत्वको जगमा सुदृढ सुव्यवस्था र तीब्र विकासको बाटोबाट अघि बढेको बताएका छन् ।
‘समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारी राष्ट्र विकास गर्ने हाम्रो संकल्प रहेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ ।’
ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने विसवध सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ती सुरक्षासंग सम्बद्ध सुरक्षा निकाय समेत सदैव सजग र सतर्क रहनु पर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्