काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा अब टिकट अनिवार्य, नक्कली परिचयपत्र देखाए ५ सय, फोहर गरेमा १ हजार जरिवाना
काठमाडौं , चैत २५ । काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा यात्रु टिकटलाई अनिवार्य गरिएको छ । हाल केही बस सेवा प्रदायकले मात्र यात्रुलाई टिकट दिने गरेका छन् । तर, काठमाडौं महानगरपालिकाले ऐनमै सार्वजनिक यातायात सञ्चालनमा कागजी वा विद्युतीय टिकट अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।
कागजी टिकट प्रयोग गरिरहेकाहरुले पनि अब बिस्तारै विद्युतीय टिकले विस्थापित गर्दै लग्नुपर्नेछ । काठमाडौं महानगरपालिकाले बनाएको ‘सवारी तथा यातायात व्यवस्थापन विधेयक, २०७५’ मा सेवा प्रदायकले गाडी चढ्नु अघि वा चढेलगत्तै यात्रुसँग तोकिएको भाडा लिइ अनिवार्य टिकट दिनुपर्ने प्रावधान राखिएको हो ।
विद्युतीय टिकट रहेको खण्डमा ई–टिकेटिङ लगायतका प्रविधिबाट अग्रिम टिकट खरिद गर्न पाउने व्यवस्था सेवा प्रदायकले मिलाउनुपर्ने छ । काठमाडौंका हकमा हाल साझा र महानगर यातायातले मात्रै यात्रुले भाडा दिएपछि टिकट दिने गरेका छन् ।
तर, अब सबै बस,माईक्रो, टेप्पो, ट्याक्सीले टिकटको प्रवन्ध गर्नुपर्नेछ । यात्रु टिकटको आकार प्रकार तथा टिकटमा उल्लेख गर्नुपर्ने जस्ता विषय महानगरपालिकाले तोक्नेछ ।
यात्रु टिकटमाच धुम्रपान, मद्यपान, सूर्तिजन्य तथा सार्वजनिक हित बिपरितका वस्तुको विज्ञापन गर्न पाइने छैन । यात्रुले पनि अब काठमाडौं महानगरपालिकाभित्र गाडीमा यात्रा गर्न आफूले चढ्ने स्टपमा वा सवारी साधन चढेलगत्तै तोकिएको भाडा तिरेर टिकट लिनुपर्नेछ ।
सेवा प्रदायकले बालबालकिा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, जनआन्दोलनका घाइते, शहिद परिवारका सदस्य, विद्यार्थी तथा अन्य निर्धारित व्यक्तिलाई तोकिएबमोजिम भाडामा छुट दिएर टिकट उपलब्ध गराउनुपर्नेछ । सहुलियत पाउने यात्रुले पनि सम्बन्धित निकायले जारी गरेको परिचय पत्र देखाउनुपर्ने व्यवस्था बिधेयकमा छ ।
यसैबिच नक्कली वा म्याद गुज्रिएका परिचय पत्र देखाइ गाडी भाडामा छुट लिन खोज्नेहरुलाई कारवाही हुने भएको छ । त्यतिमात्रै होइन गाडीभित्रै फोहर गरेमा, अश्लील शब्द वा चित्र कोरेमा पनि कारबाही भोग्नुपर्ने छ ।
सार्वजनिक यातायातका साधनबाट गरिने यात्रा सुरक्षित र व्यवस्थित नभएको गुनासो वर्षौंदेखि हुँदै आएको छ । त्यसैले कानुन नै बनाएर त्यसलाई थप व्यवस्थित गर्ने प्रयास काठमाडौं उपत्यकाबाट सुरु गरिएको छ ।
काठमाडौं चल्ने बस तथा माइक्रोमा स्कुल तथा कलेज पढ्ने विद्यार्थी, अशक्त, ज्येष्ठ नागरिकले परिचय पत्र देखाउँदा छुट पाउँछन् । तर, स्कुल(कलेज भर्ना नै नभएकाहरुले पनि नक्कली परिचय पत्र देखाएर छुटको सुविधा लिने गरेका छन् । तर, अब म्याद समाप्त भएको परिचय पत्र वा नक्कली परिचय पत्र प्रयोग गरी भाडामा छुट लिन खोज्ने यात्रुहरुलाई कारवाही हुने भएको छ ।
यस्ता कसुर गर्नेहरुमाथि पहिलो पटक एक सय र दोस्रो पटक पाँच सय रुपैयाँसम्म जरिवाना हुने व्यवस्था विधेयकमा छ ।
यो विधेयकमा कुनै यात्रुले आफूले यात्रा गरिरहेको सवारी साधनभित्रै वा बाहिर फोहर फ्यालेमा पनि कारबाही हुने छ । कतिपय यात्रुले खाएका चकलेट, बिस्कुट, चाउचाउका खोल, पानीका बोतल बसभित्रै वा झ्यालबाट बाहिर फ्याक्ने गर्दछन् । अबदेखि यस्तो काम गरेमा पनि कारवाहीको भागिदार बन्नुपर्नेछ ।
यी कसुर गर्नेले पहिलो पटक पाँच सय र दोस्रो पटक एक हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।
यस्तै गाडीमै झगडा गर्ने, डर-धाक धम्की देखाउने, यातायातका साधनमा आगो लगाउने, सिसा फुटाउने, यौनजन्य दुर्व्यवहार गर्ने, लागु औषध प्रयोग गर्ने, पकेटमार गर्ने वा कानूनले निषेध गरेका कार्य गर्नेहरु पनि अब उम्किन पाउने छैनन् ।
यस्तो गतिबिधिमा संलग्ने हुनेलाई तत्कालै गाडीबाट बाहिर निकालेर आवश्यक कारवाहीका लागि ट्राफिक प्रहरी, नगर प्रहरी वा सुरक्षाकर्मीको जिम्मा लगाउनुपर्ने व्यवस्था विधेयकमा छ ।














प्रतिक्रिया दिनुहोस्