कांग्रेसमा कलहः देउवाले बोलाएको शीर्ष नेताको बैठक सिटौलाद्वारा बहिष्कार
काठमाडौं चैत २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताहरुको बैठक नेता कृष्ण प्रसाद सिटौलाले बहिष्कार गरेका छन्।
वर्तमान र पूर्व पदाधिकारीको लागि देउवाले आफ्नै निवासमा बैठक डाकेका थिए। कार्य सम्पादन समितिको बैठकमा किचलो उत्पन्न भएपछि सिटौलाले बैठक बहिष्कार गरेको बताइएको छ।
बिहान ८ बजेदेखि जारी बैठकमा कार्य सम्पादनसहित केन्द्रीय विभागहरुको गठनको विषयमा छलफल भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
देउवासहित बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय विमलेन्द्र निधी र विजय गच्छदार, महामन्त्रीद्धय डा शशांक कोइराला र पूर्णबहादुर खड्का र प्रवक्ता शर्मासहितका नेताहरु सहभागी भएको बताइएको छ।
यसअघि शुक्रबार साँझ बसेको बैठकमा कार्य सम्पादन समितिमा रहने सदस्यहरुको भागवण्डामा कुरा मिलेको थिएन। नेता सिटौलालाई ‘अवमुल्यन’ गरिएको भन्दै उनले बैठक छोडेर बाहिरिएका हुन्।
शनिबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक भागवण्डामा सहमति नजुटेपछि स्थगित गरिएको थियो।
२९ सदस्यीय कार्य सम्पादन समिति केन्द्रीय समितिपछिको शक्तिशाली निकाय हो। देउवा र पौडेल समूहले ६०र४० प्रतिशतको भागवण्डा गरेसँगै सिटौला असन्तुष्ट बनेका छन्।
प्रतिक्रिया दिनुहोस्