सभामुख महरा र कतारका उपप्रधानमन्त्रीबीच भेटवार्ता: कतारले दियो यि विषयमा चासो
काठमाडौं, चैत २४ । सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन(आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आउएका सभामुख महरारा र कतारका पराराष्ट्रमन्त्री थानीबीच दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्तामा सभामुख महराले नेपाल-कतार सम्बन्ध कूटनीतिक मात्र नभइ जनस्तरसम्म प्रगाढ रहेको बताए । उनले समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई अझैं थप मजबुत र प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण हुने उल्लेख गरे ।
दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन संसदीय मैत्री संघ प्रभावकारी भएको चर्चा गर्नुहुँदै सभामुख महराले आफूहरुले नेपाल(कतार संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराए ।
छोटो अवधिमै कतारले आर्थिक तथा भौतिक निर्माणका क्षेत्रमा गरेको प्रगति विश्वका लागि उदाहरणीय भएको सभामुख महराले बताए ।
नेपालमा विकासको थुप्रै सम्भावनाहरु रहेको भन्दै सभामुख महराले नेपालको कृषि, पर्यटन, ऊर्जा र भौतिक संरचना निर्माणमा लगानी गर्न कतारलाई आग्रह गरे ।
कतारमा ४ लाख बढी नेपाली जनशक्ति विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै सभामुख महराले उनीहरुको पेशागत सुरक्षा र सेवा, सुविधाका बारेमा परराष्ट्रमन्त्री अल थानीसँग चासो व्यक्त गरेका छन् ।
‘कतारमा अहिले ४ लाख बढी नेपालीहरु विभिन्न पेशा र क्षेत्रमा काम गरिरहेका छन्, सभामुख महराले भने , ‘उनीहरुको पेशागत तथा भौतिक सुरक्षा, सेवा, सुविधाका लागि सरकारी तहबाट आवश्यक पहल र चासो भइरहनेछ भन्ने हाम्रो चाहना हो ।’
नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिएको जानकारी गराउँदै सभामुख महराले परराष्ट्रमन्त्री अल थानीलाई नेपाल भ्रमणका लागि निम्तो समेत गरे ।
सभामुखसँगको शिष्टाचार भेटका क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री अल थानीले सभामुख महरासहितको नेपाली संसदीय प्रतिनिधि मण्डललाई कतारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
अल थानीले आइपियूको १४० औं सभाको सन्दर्भमा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको भ्रमणले कतार(नेपाल सम्बन्ध थप प्रगाढ बनाउन सहयोग मिलेको बताए ।
नेपाल भ्रमणका लागि आफूले पहिलेदेखि नै कोशिस गरिरहेको भन्दै उनले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे ।
कतारमा थुप्रै नेपाली जनशक्ति रहेको र उनीहरुको सुरक्षा, सुविधाका बारेमा आफूहरु सचेत रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्